आधुनिकता सँगै हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन


गलेश्वर, २२ असोज
बडादसैँे आगमन घर आँगनमा भइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । घटस्थापनाको सुरुवातसँगै बडा दशैंकामे सुभारम्भ हुने गर्दछ। दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो । रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिँदै गएका छन् ।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । यी नै आधुनिकतासंगै ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित बिभिन्न किसिमका रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका-२ बगरफाँटका ८५ वर्षीय बाबुराम उपाध्यायले बताउनुभयो ।

एक समय थियो, दसैँ भित्रँदै गर्दा रातो माटो र कमेरोले घर, आँगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटेपिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दसैँको मौलिकता नै नासिएको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here