एघारस्थानमा तरकारी बजार सञ्चालन

काठमाडौँ, २८ चैत

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न काठमाडौँका विभिन्न ११ स्थान निर्धारण गरेको छ । बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन काठमाडौँ महानगरपालिकाले कलङ्की , बाफल, स्वयम्भू, वनस्थली, गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तय गरेको हो ।

काठमाडौँ महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ती ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिनुभयो । कालीमाटी तथा बल्खुको फलफूल बजारमा भीडभाड हुन नदिन विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराएको प्रमुख ढकालले बताउनुभयो ।

प्रमुख ढकालका अनुसार ती स्थानबाट उपभोक्तालाई सबैखाले फलफूल र तरकारी उपलब्ध गराइनेछ । भीडभाड कम गर्नकै लागि हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ । अहिले काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बिक्री वितरणस्थलहरु सम्बन्धित स्थानमा वडा कार्यलयको सहयोग र समन्वयमा रहेको पनि काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त बिक्रीस्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्नेछन् । त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने र त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here