कोरोना त्रासले राति नाचेरै परम्परागत नीलबाराही नाच सम्पन्न


भक्तपुर, १२ भदौ
मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच सम्पन्न भएको छ ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो कोरोना सङ्क्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यसवर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोलटोलमा राती नाच देखाइएको थियो । स्थानीयले पूजा नचढाउने र नाच राती मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो । राति सञ्चालन गर्दा जात्रामा भीडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here