चाडपर्व नजिकिँदै बजार अनुगमनमा तीव्रता

डोटी, ३१ भदौ ।

दशैँ तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो । दशैँ तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको उक्त कार्यालयका प्रमुख नारायण रावतले बताएका छन् ।

हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैँ तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका रावतले बताएका छन् । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताएका छन् ।

उनका अनुसार कालोबजारी, मिसावटलगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिने निर्णय गरिएको छ, कालोबजारी गर्नेलाई कारवाही हुनेछ ।
बजार अनुगमनका लागि उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समिति, स्थानीय व्यापारी, प्रहरी तथा पत्रकारको टोली बनाइएको छ ।

टोलीले जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर यहाँका ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएकोलगायत विषयमा अनुगमन गर्ने भएको छ । त्यसैगरी जिल्लाका ग्रामीण क्षेत्रमा गैरकानूनीरुपमा बिक्री वितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचविखनमा समेत कडाइ गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here