चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी


–नारायण अधिकारी
चितवन, १९ असोज
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरी शिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । पच्चीस वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो । यससँगै स्थानीयवासीको जीवनस्तर उकास्न राज्यले सहयोग गर्दै आएको छ भने स्थानीय संरक्षणमा जुटेका छन ।

विसं २०५३ मङ्सिर १७ गते मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमानवली’ राजपत्रमा प्रकाशित भएसँगै मध्यवर्तीको अवधारणा अघि बढेको हो । सोही नियमावली अनुसार मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद गठन गरिएको हो । पछि परिषद्लाई समिति बनाइएको छ । निकुञ्ज आसपास रहेका चार जिल्लाका एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिकाका भू–भाग मध्यवर्ती क्षेत्र मा पर्दछन् । मध्यवर्तीमा चितवन, मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) र पर्सा जिल्लाका पालिकाका भूभाग पर्दछन । तीन लाखभन्दा बढी जनसङ्ख्या भएको मध्यवर्ती क्षेत्र ७२८।३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत मध्यवर्ती क्षेत्र मा पठाइने गरिन्छ । आर्थिक वर्ष २०५४÷५५ देखि हालसम्म रु एक अर्ब नौ करोड ७६ लाख ८७ हजार ८८४ मध्यवर्ती क्षेत्रमा आइसकेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार प्राप्त रकमलाई मध्यवर्तीले पाँच क्षेत्रमा लगानी गर्दछन । कूल रकमको ३० प्रतिशत सामुदायिक विकास, ३० प्रतिशत संरक्षण कार्य, २० प्रतिशत आयआर्जन, सीप विकास, १० प्रतिशत संरक्षण शिक्षा र १० प्रतिशत प्रशासनिक खर्च गरिँदै आएको छ । जसका कारण मध्यवर्ती क्षेत्रमा संरषणका कामसँगै विकास निर्माणका काम हुँदै आएका छन् । यसले निकुञ्ज र जनताबीचको द्वण्द न्यूनीकरण गर्न सहयोग पुगेको छ ।
मध्यवर्तीमा २१ उपभोक्ता समिति र एउटा उपसमिति छन् । ती समितिभित्र एक हजार ७८४ समूह रहेको सूचना अधिकारीले जानकारी दिनुभयो । ती समूहमार्फत संरक्षण कार्यहुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here