झापामा डेङ्गुको रोग फैलिँदै


भद्रपुर, १८ मङ्सिर
विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् ।
विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिनुभयो ।
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ । उहाँले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताउनुभयो ।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताउनुभयो ।

उहाँले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिर महिनामा बढी देखिएको बताउनुभयो । पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उहाँले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here