तिहारको आगमन सँगसँगै कुमालेलाई भाँडा बनाउन भ्याइनभ्याइ


भादगाउँ, ५ कार्तिक
नेपालीको दोस्रो ठूलो झिलिमिलिको पर्व तिहार नजिकिँदै छ। यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिले भन्नुभयो, “तिहार आउन अझै हप्ता दिनभन्दा बढी समय बाँकी छ । हप्ता दिनभित्र मागअनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ ।”

उहाँका अनुसार अचेल तालक्वका कुमाले समुुदायको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको उहाँले बताउनुभयो ।

“बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिनमै तयार गरिराखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा नै व्यस्त छौँ । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन”, उहाँले भन्नुभयो ।

अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here