नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

काठमाडौँ, ६ साउन

दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ ।

यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ । नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ । नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिनुभयो ।

मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती (मकवानपुर र चितवन हुँदै बग्ने) नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ । आज उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ ।

पूर्वी राप्ती ३ दशमलव ३० मिटर सतर्कता तह पार गरी ३ दशमलव ३६ मिटर पुगेको छ । यो नदीको बहाव ३ दशमलव ७० मिटर खतराको तह हो । यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले आज खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here