प्रविधिको सामाजिक संजालको जोखिममा बालिका


(सन्दर्भ: १०औँ अन्तरराष्ट्रिय बालिका दिवस)
–कालिका खड्का
काठमाडौँ, २५ असोज
“मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले आत्महत्या नै गरेका छन् ।

सामाजिक सञ्जालमा सूचना तथा प्रविधिको सही उपयोगभन्दा पनि दुरुपयोग भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा भरखरका किशोरीहरु परेका छन् । धेरै किशोरीले अनलाइनको दुव्र्यहारमा जानअन्जानमा परेका छन् । जसले गर्दा बालबिवाह, बालहिंसा जस्ता कुरितीको बिगबिगी भइरहेको छ ।

“सूचना प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच सबैलाई जरुरी छ”, रावतले थप्नुभयो । “सूचना प्रविधिको विकाससँगै त्यसको सही सदुपयोग कसरी गर्ने भनेर शिक्षा दिन जरुरी छ ।”

कोभिड–१९को जोखिमका कारण धेरै विद्यालय शिक्षा अनलाइनमार्फत भइरहेका छन् । दैनिक बालबालिकाका अनलाइन अर्थात् इन्टरनेटको पहुँचमा छन् । त्यो हुनु पनि जरुरी छ तर प्रविधिको माध्यमबाट हुन सक्ने दुव्र्यवहारबारे जनचेतना जगाउन जरुरी छ । जनचेतनाका अभावमा यस्ता घटनाहरु घट्ने गर्दछन्।

यस्ता समस्याको साक्षी अनु एक्ली होइनन् । सिन्धुली खुर्कोट–८ की १८ वर्षीय सुमित्रा अछामीलाई पनि धेरै किशोरी अनलाइनको दुव्र्यवहारमा परिरहेको अनुभव भएको छ ।

“धेरै किशोरी अनलाइन दुव्र्यवहारमा परेका छन्”–सुमित्राले भन्नुभयो, “आफूमाथि दुव्र्यवहार भयो भने कसरी बच्ने भन्ने पनि किशोरीलाई थाहा छैन, दुव्र्यवहार गर्नेलाई कारबाही हुन्छ भन्ने पनि थाहा छैन ।”

अनलाइनबाट दुव्र्यवहारमा पर्दा उजुरी गर्नुपर्छ । त्यस्ता दोषीलाई कारबाही हुन्छ भन्ने देशभरका धेरै किशोरीलाई जानकारी छैन । जानकारी गराउँदा पनि समाजले गलत सोच्ने र आफ्नोे चरित्रमा प्रश्न चिन्हउठ्नेजस्ता समस्याले महिलाले समस्या बाहिर ल्याउन हिच्किचाउने गरेका छन्।

साइबर अपराधसम्बन्धी मुद्दाको काठमाडौँ जिल्ला अदालतमा मात्र सुनुवाइ हुने व्यवस्था छ । जसले गर्दा पनि यो विषय दूरदराजका मानिसलाई पहँुच बाहिरको विषय बनेको छ ।

“अनलाइनमा अधिकांश समय विताउँदा किशोरी यौन दुव्र्यहार र बेचविखनमा पनि पर्न सक्नेसम्म खतरा देखिएको छ” –महिला आयोगका अध्यक्ष कमला पराजुलीले भन्नुभयो, “सामाजिक सञ्जालको नियामक निकाय जरुरी छ ।”

पछिल्लो समयमा देशमा सूचनाप्रविधिको तीव्र विकास भयो तर त्यो अनुरुप सूचनाप्रविधिका राम्रा र नराम्रा कुराबारे मानिसलाई ज्ञान हुन सकेन । मुलुकमा अझै पनि सबै क्षेत्रमा उच्च शिक्षाको पहुँच पुग्न सकेको छैन । साक्षरता दरभन्दा बढी सूचना प्रविधिको विकास भयो । सबैको हातमा मोबाइल, इन्टरनेट छ । त्यसको सदुपयोग गर्नुपर्ने भन्दा दुरुपयोग बढी हुन गयो । त्यसको प्रत्यक्ष प्रभावमा अवोध बालबालिका परिरहेका छन् ।

“देशमा जसरी सूचना प्रविधिको विकास तीव्ररुपमा भयो, त्यो अनुरुप विद्यालय वा कलेजमा जानकारी भएन”, आयोगका अध्यक्ष पराजुलीले भन्नुभयो, “सूचना प्रविधिको सकरात्मक र नकरात्मक पक्षको कक्षा सञ्चालन जरुरी छ ।”

प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोगबारे गरेको अध्ययन प्रतिवेदन–२०२१ अनुसार बालिका दैनिक सात घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ ।

अध्ययनमा सहभागी किशोरी र बालिकामध्ये ५५ प्रतिशतले सात घन्टा अनलाइनमा बिताउने गरेको गरेको पाइएको हो । उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिले सामाजिक सञ्जालमा अनुरोध पठाउने र कुरा गरेर तनाव दिनेजस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको अध्ययनमा सहभागी बालिकाले बताएका छन् ।

विभिन्न २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकामा गरिएको अध्ययनअनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको उल्लेख छ ।

प्लान इन्टरनेसनल नेपालले बालिका दिवसका अवसरमा अक्टोबर ५ तारिखदेखि बालिकालाई सूचनाप्रविधिबारे ज्ञान दिने र उनीहरुको व्यक्तित्व विकासका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here