बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा


– गङ्गराज पण्डित
बाजुरा, १ असार
आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।
बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताउनुभयो ।
जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ । मन्दिर पनि नदीको चपेटामा परेको छ । नदीको मारमा साँफे–मार्तडी सडकखण्ड पनि परेको छ । अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ । साँफे–मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँलासम्म २० ठाउँभन्दा बढी क्षेत्रमा पहिरो गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here