२० करोड लगानीमा दैनिक ७०० लिटर दूध उत्पादन


– शङ्खर पहाडी सर्लाही, १६ साउन
लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको हो ।
उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गर्नुभएको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गर्नुभएकी सिलवालले अहिले १५० गाई पाल्नुभएको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गर्नुभएकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाउनुभएको छ ।
तीमध्ये ६५ गाई दुधालु छन् भने ५२ ब्याउने । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिनुभयो । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उहाँको भनाइ छ ।

सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खाैली पेशा पण्डित्याइमा व्यस्त रहनुहुन्थ्यो । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खाैली पेशा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उहाँको भनाइ छ ।
गाईपालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताउनुभयो । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उहाँको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उहाँले बताउनुभयो ।
फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उहाँले जानकारी दिनुभयो । “बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्नुहुन्छ”, सिलवालले भन्नुभयो, “शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउनुहुन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here