औद्योगिक ग्राम सञ्चालन गरिने

वालिङ, ५ माघ
वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभएको छ । नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बंैडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकिएको नगरप्रमुख खाँणले बताउनुभएको छ । पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामका रुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख खाँणले जानकारी दिनुभएको छ ।