काठमाडौमा चिसो बढ्दो क्रममा


काठमाडौँ, २७ मङ्सिर
केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकासहित देशभरको अधिकमत तापक्रमसमेत दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको बताइएको छ ।
आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम चार दशमलव तीन डिग्री सेल्सियसमा झरेको छ । आइतबार उपत्यकाको तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस थियो । अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।
हाल देशको प्रदेश नं १, २ का पूर्वी भूभाग र प्रदेश नं ५ का पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मङ्गलबार लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री र अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here