दुबईबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ

भद्रपुर, ४ वैशाख

प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताउनुभयो ।

चौलागाईँका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो ।

अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here