पत्रकारको स्वास्थ्य परीक्षण

गलकोट, १६ चैत
नेपाल पत्रकार महासङ्घको ६४औँ स्थापना दिवसका अवसरमा आज बागलुङ शाखाले पत्रकारको निःशुल्क स्वास्थ्यपरीक्षण गराएको छ । पत्रकार महासङ्घले व्यस्तताका कारण स्वास्थ्यप्रति सजग नरहने पत्रकारलाई स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्यपरीक्षण गरएको हो । महासङ्घको आग्रहमा धौलागिरि अञ्चल अस्पतालमा जिल्लामा क्रियाशील ४० जना पत्रकारको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो । स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रम मात्र गरेर मनाउन भन्दा पत्रकारलाई स्वास्थ्यप्रति सजग राख्न फरक खाले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षणका क्रममा अधिकांश पत्रकारको रक्तचापमा समस्या देखिएको अस्पतालका निमित्त प्रमुख डा शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारको स्वास्थ्यपरीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । महासङ्घको स्थापना दिवसका अवसरमा फरक किसिमको कार्यक्रम गरेर पत्रकारलाई थप ऊर्जावान गराउनलाई शुक्रबार ‘पाँच पत्रकार पाँच अनुभव’ प्रेरक संवाद कार्यक्रम समेत सम्पन्न गरिएको महासङ्घका शाखा सचिव राम थापाले बताउनुभयो ।
स्वास्थ्य परीक्षणमा धौलागिरी अञ्चल अस्पतालका सातजना विषेशज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । पत्रकारको रक्तचाप, नाँक कान घाँटी, नशा तथा हाड जोर्नी, स्त्रीरोग लगायतको परीक्षण गरिएको थियो ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here