‘ बागलुङको बलेवामा हवाईजहाज सरर…’


– तारानाथ आचार्य
बलेवा, १२ साउन

बलेवाली मायाको चिनो !
चिनो हेरे हुन्छ मन मलिनो
मेरो माया जन्मेको घर
बलेवामा हवाई जहाज सर

जाम्ला माया बलेवा तिर
कुश्मा, बेनी, बागलुङ घुमफिर

करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै यो गीत बजारमा ल्याएका थिए । विमानस्थलको धावनमार्गमै छायाङ्कन गरिएको यो गीतमा बलेवा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा पनि छ ।

गीतमा भनिएजस्तै विमानस्थल विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आयो । यसअघि धवलागिरि अञ्चलको सदरमुकाम बागलुङबाट पश्चिमको प्रमुख शहर एवं पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुुकाम पोखरा तथा राजधानी काठमाडाँैंलाई जोड्न हवाईजहाजबाहेकको अर्काे विकल्प नरहेकामा वि सं २०४८ मा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि विमानस्थल बन्द भएको थियो । विसं २०७४÷७५ मा बलेवामा हप्तामा दुईदिन हवाईजहाज सरर उडे । बागलुङ नगरपालिकाले एयरलायन्स कम्पनीहरुको क्षति बेहोर्ने गरी सम्झौता गरेरसमेत एक वर्षमा जहाज सञ्चालन ग¥यो ।

जहाज चढी बलेवा झर्नी हो
देवी थानको दर्शन गर्नी हो

एशियाकै अग्लो पुल तरौँला
भैरव थानको दर्शन नि गरौँला

प्रायः पहाडी बाटो रहेको पोखरा पश्चिमको भेगलाई पोखरा र अन्य शहरसँग जोड्न आवश्यक त छँदैछ त्यसबाहेक पनि यहाँ हवाईयात्राको आवश्यकता यस क्षेत्रको पर्यटकीय विकासका लागि देखिन्छ । पूर्ण परियारले गीतमा भनेजस्तै पश्चिमका प्रसिद्ध धामहरु बलेवा भैरवस्थान र बागलुङ कालिका, पञ्चकोट, जैमिनी ऋषिको धाम पुग्न पनि यहाँ विमान अवतरण भए सजिलो हुन्छ । मुक्तिनाथ जान पनि जोमसोम एक मात्र विमानस्थल छ र कहिलेकाहीँ मौसमको खराबी या अन्य कारण उडान नभएमा बलेवाबाटै जानुपर्छ ।

त्यस्तै पछिल्ला वर्षहरुमा यहाँ बञ्जीजम्प, स्काई साइक्लिङ, नेपालका सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिकपुल, भकुण्डे भ्यूटावर आदि सञ्चालनमा छन् । यी पर्यटकीय संरचना र स्थलको अवलोकन पनि बलेवामा विमानस्थल सञ्चालनमा आउँदा सहज हुनेछ ।

राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारबाट १३ किलोमिटरको दूरीमा छ । हवाईसेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । “वर्षामा बाटो बिग्रिन्छ, बिरामी अस्पताल लैजानसमेत कठिन”, जैमिनी नगरपालिका–८ छिस्तीका राजेन्द्र पौडेलले भन्नुभयो, “जहाज चले सिधै काठमाडाँै, पोखरा जान सकिन्थ्यो ।” बलेवा विमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान हो । पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास भइरहेकाले आन्तरिक उडानका लागि गण्डकी प्रदेशको वैकल्पिक विमानस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here