बिहेवारी बीस वर्षपारि नारामा सीमित

नेपालगञ्ज, ६ माघ
युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । जिल्ला केही सचेत युवायुवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सारले बताउनुभएको छ । बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन । बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने संघसंस्थाको बुझाई छ । गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ वटा उजुरी परेको थियो ।

दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले औल्याउनुुभएको छ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बाँके जिल्लामा बालविवाह बढ्दै गएको छ ।

बालविवाह रोकथामका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here