लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, २० साउन । सरकारको २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिए ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भने, ‘नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ ।’

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here