लोकबाजा जोगाउँदै जैमिनी सङ्कीर्तन

गलकोट, १७ साउन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ । वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो ।

सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन थालेपछि समूह नै गठन गरेर लोकबाजाको संरक्षणमा लागेको जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षेत्रीले जानकारी दिए । ‘लोक संस्कृतिको धरोहरका रूपमा रहेको लोकबाजा पुस्ता हस्तान्तरण गर्न खोजेका हौँ’, क्षेत्रीले भने, ‘आगामी वर्षदेखि स्थानीय तहसँगै समन्वय गरेर नगरपालिकाको प्रत्येक वडामा लोकबाजा प्रशिक्षण गर्ने योजनामा छौँ ।’

समूहले स्थानीयवासी १६ लाई मादल, आठलाई हार्मोनियम, तीनलाई बाँसुरी, तीनलाई सारङ्गी र तीनलाई तबला गरी ३१ जनालाई लोकबाजा प्रशिक्षण गरिएको समूहका सचिव झपिन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । समूहकै रु एक लाख ५० हजार खर्च गरेर तालीम दिइए पनि आगामी वर्ष जैमिनी नगरपालिकाले लोकबाजा संरक्षणका लागि रु पाँच लाख विनियोजन गरेको छ ।

जैमिनी सङ्कीर्तन समूह बागलुङ जिल्लाकै उत्कृष्ट भजन समूह भएका कारण यसको विकास गर्नका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गरेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिइन् ।

तालीमपश्चात रोजगारीसमेत सिर्जना हुने गरी अपाङ्ग, असहाय, महिला र पुरुष गरी समानुपातिकरूपमा तालीममा सहभागी गराइएको समूहले जनाएको छ । तालीममा आफूले सोचेभन्दा सहभागीले राम्रो गरेको तालीमका प्रशिक्षक सूर्य घतानले बताए । ‘आफूले जुन लोकबाजा सिकाउने अपेक्षा गरेको थिएँ, त्यो भन्दा राम्रो सिक्न सफल हुनुभएको छ’, घतानले भने, ‘प्रशिक्षार्थीको लोकबाजा सिक्ने लगाव तीव्र भएकाले सिकाएको कुरा व्यवहारमा लागू हुनेमा ढुक्क छु ।’

अहिलेको युवापुस्ता नै संस्कृति जगेर्ना गर्न लागि नपरे मौलिक संस्कृति नै लोप हुने अवस्थामा आएका कारण पुस्ता हस्तान्तरण गर्नका लागि तालीमको आयोजना गरिएको हो । विशेषगरी लोकबाजा भन्नाले सारङ्गी, मादल, बाँसुरी, हार्मोनियम र तबलालाई बुझिए पनि खैजडी र मुजुरालाई पनि तालीमको विधामा राखिएको समूहका सचिव झपिन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

तालीममा सहभागीमध्ये स्थानीय दृष्टिविहीन प्रविणी आचार्यले उत्कृष्ट हार्मोनियम बजाउन सफल भएको प्रशिक्षक घतानले जानकारी दिए । जैमिनी सङ्कीर्तन समूहले राष्ट्रिय खुला भजन प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्न सफल भइसकेको छ । जिल्लामै उत्कृष्ट भजन गाउने समूहको रूपमा परिचित जैमिनी सङ्कीर्तन समूहलाई भजन प्रतियोगिताबाहेकका अन्य कार्यक्रममा समेत निमन्त्रणा गर्न थालिएपछि बागलुङमा लोकबाजा र भजनप्रतिको मोह जाग्दै गएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here