सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी

पाल्पा, १३ चैत रासस :
‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ । गोरखदल गणले करीब दुई महीनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको हो । नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार सङ्हग्रालय नजिकै र सेनाले टँुडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो । पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो । गोरखदल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले सेना र नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने बताउनुभयो । तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णोद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानीको सहज व्यवास्था भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । सेनाले तानसेनस्थित टुँडिखेलमा पनि एक वर्षअघि नै यस्तै प्रकारको खानेपानी ट्याङ्की निर्माण सम्पन्नपछि त्यस क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रुलाई खानेपानी सहज भएको स्थानीय बासिन्दा डिलबहादुर रानाले बताउनुभयो ।

अध्यक्ष र व्यवस्थापकलाई सहकारी शिक्षा
तिनाउ गाउँपालिका क्षेत्रभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि सहकारी शिक्षा, ऐन, नियम र विनियमसम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका सहकारी समन्वय समितिको आयोजना र तिनाउ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित तालीममा गाउँपालिका क्षेत्रभित्रका २० सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि स्थानीय सहकारी ऐन, नियम र विनियमसम्बन्धी सहजीकरण गरिएको हो । स्थानीय सरकारको सहकारी ऐन नियम तथा विनियम, सहकारीको सिद्धान्त, मूल्य मान्यता, नीति नियम, कार्यविधि तथा प्रविधिलगायतका विषयमा तालीममा छलफल केन्द्रित भएको सहकारी समन्वय समितिका सचिव सचिव गोपाल जिसीले बताउनुभयो ।
तालीम समापनका अवसरमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here