स्वदेशमै रोजगारी सिर्जना गर्न ‘पेवेलियन’ सञ्चालन

रत्ननगर, चितवन, १२ चैत स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालन गरेको छ ।
युवालाई स्वदेशमै रोजगार गराउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडाहरू एकैठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारको रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिनुभयो ।विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले दोस्रो परियोजना एक कपडाको भण्डारका रुपमा ग्रेट वान पेभेलियन सञ्चालन गरेको हो ।यसअघि कम्पनीले पहिलो परियोजना स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको छ ।‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यस्तो परियोजना थालेको हो ।एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्याल बताउनुहुन्छ । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाइने छन् । यस्तै शटिङ–सुटिङका कपडा तथा साडी, कुर्तासुरुवाल समेत यहाँ छन् ।कम्पनीले प्रवासमा रहेकालाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । १५० जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here