फोहोर जलाउने मेसिन भदौभित्र ल्याइने

– मीना घोरसाइने

बनेपा, २९ साउन । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले भदौभित्र फोहोर जलाउने मेसिन ल्याउने भएको छ ।

नगरपालिकाले जापानीज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवारहित चिम्नी भित्र्याउने तयारी गरिएको नगरपालिकाका उपप्रमुख रेखा दाहालले बताइन् । ‘सुरुमा हामीले नगरपालिकाको वडा नम्बर ९ स्थित ठकुरी गाउँमा परीक्षण गर्ने योजना बनाएका छौं’, उनले भनिन्, ‘यसबाट नगरपालिकालाई फोहोर व्यवस्थापनमा राहत मिल्नेछ । मेसिनका लागि कम्पनीसँग सम्झौता भइसकेको उनले बताइन् ।

उक्त मेसिनको लम्बाइ २०० सेन्टिमिटर, उचाई २० फिट, चौडाइ १५० सेन्टिमिटर र तौल एक हजार ५०० किलो रहेको छ । मेशिनले प्रतिघण्टा ३०–४० किलो तथा प्रतिदिन १० घण्टामा ३०० देखि ४०० किलोसम्म फोहर जलाउन सक्छ ।

धुलिखेल नगरपालिकामा रहेको जग्गामा फालिँदै आएको फोहोरका कारण त्यहाँका स्थानीयलाई सास्ती भएको भन्दै फ्याक्न नदिएपछि अहिले नगरपालिकाले ठेकेदारमार्फत सिसडोलमा व्यवस्थापन गर्दै आइरहेको छ ।

सो स्थानमा काठमाडौँ महानगरपालिकाको फोहोर पनि फ्याकिँदै आएको छ । समयमा फोहोर उठाउने गाडी नआउँदा बनेपा नगरपालिकाका स्थानीयले बनेपा नगरपालिका अगाडि लगायत अन्य सार्वजनिक स्थलमा नै फ्याक्दै आउने गरेका छन् । सो समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले मेसिन भित्र्याउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here