दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

फलेवास, पर्वत, २३ फागुन बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष पुग्दैछ । भूकम्पलगत्तै उहाँले पूर्ण क्षतिको कार्ड र रु ३० हजार राहत पाउनुभयो ।पराजुली सरकारले आवास पुनःनिर्माण अनुदान दिने सुनेपछि खुशी हुनुभयो । गत वर्ष पूर्ण क्षति भएका पीडितको आवेदन संकलन गर्दै बैंकका कर्मचारी गाउँ पुग्दा उहाँको आवास अनुदान पाउने सूचीमा नाम भेट्टिएन ।सोही ठाउँका मीना आचार्य, तेजबहादुर दर्जी, सरस्वती आचार्यलगायत १८ परिवारको अवस्था उस्तै दयनीय छ । दिनभर मेलापात नगरे साँझ चुलो बाल्न नसक्ने अवस्थाका तेजबहादुर कतै हारगुहार गर्न जान सक्दैनन् ।“सरकारी अनुदान पनि टाँठाबाठालाई मात्रै रहेछ,” उहाँले भन्नुभयो ।रानीपानीका एउटै टोलका १८ परिवार अनुदानबाट वञ्चित छन् । रानीपानी भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको गाउँ हो । रानीपानीका वडाध्यक्ष रणबहादुर आलेका अनुसार यहाँका ५७९ मध्ये ५०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ । आवास अनुदान पाउने सूचीमा ३६१ परिवारको नाम मात्रै छ ।“बस्नै नमिल्ने घरधुरी धेरै छुटेका छन्,” आलेले भन्नुभयो । सोही वडाको टहरामा बस्दैआएका १०० भन्दा बढी परिवार अनुदान पाउने सूचीमा नपरेको उहाँको भनाइ छ ।बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार ६ वटा वडाका ६०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएके छ । उनीहरुको नाम राहत पाउने सूचीमा परेको छैन ।“छुटेका परिवारको लगत संकलन गरेर पठाएका छौँ,” भुसालले भन्नुभयो, “एक वर्ष हुन लाग्यो । कुनै प्रतिक्रिया आएको छैन । प्राधिकरणको काम गर्ने शैलीले हामी दिक्क भएका छौँ ।”पूर्ण क्षतिको सूचीमा परेर घर निर्माण गरिसकेका भूकम्पपीडित दोस्रो किस्ता नपाउँदा अन्यौलमा छन् । गाउँपालिकामा अहिलेसम्म पुनःनिर्माण प्राधिकरणका प्राविधिक पुगेका छैनन् । प्राधिकरणले दुई महिनाअघि नै तीनजना प्राविधिक पठाएको भए पनि गाउँमा अझै नआएको गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो । प्राविधिक नआउँदा बनेका घरको मापदण्ड परीक्षण गर्न र नयाँले घर बनाउन नसकेका उहाँले बताउनुभयो ।जिल्लास्थित भूकम्पपीडित आवास अनुदान स्रोतव्यक्ति तुलसीराम शर्मा प्राधिकरणले प्राविधिक पठाए पनि भत्किएका घरको लगत भर्ने फारम नपठाएको बताउनुहुन्छ ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here